बागमती प्रदेश
नेपालको एक प्रदेश / From Wikipedia, the free encyclopedia
बागमती प्रदेश (पहिले प्रदेश नं. ३) नेपालका सात प्रदेशहरू मध्ये एक हो।[1] यस प्रदेशको राजधानी हेटौँडा हो भने देशको राजधानी काठमाडौँ समेत यस प्रदेशमा पर्दछ।[2] यस प्रदेशले २०,३०० वर्ग किलोमिटरको क्षेत्रफल ओगटेको छ अर्थात् यसले नेपालको कुल क्षेत्रफल १४७,१८१ मध्ये १३.७९% क्षेत्रफल ओगटेको छ। प्रदेशको पूर्वमा कोशी प्रदेश र पश्चिममा गण्डकी प्रदेश पर्दछ भने उत्तरमा चीन र दक्षिणमा मधेश प्रदेश तथा भारतसँग यसले सीमाना साझेदारी गरेको छ। समुद्र सतहदेखि १४१ मिटरमा देखि ७,२२९ मिटर सम्म फैलिएको यस प्रदेशको तल्लो बिन्दु भनेको चितवनको गोलाघाट हो भने माथिल्लो बिन्दु लाङटाङ हिमाल हो। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा उल्लेखित तथ्य अनुसार, धादिङ, दोलखा, रसुवा, सिन्धुपाल्चोक र रामेछाप गरि पाँचवटा हिमाली जिल्ला, नुवाकोट र काभ्रेपलाञ्चोक गरि दुईवटा पहाडी जिल्ला, काठमाडौँ, भक्तपुर र ललितपुर गरि तीनवटा उपत्यकाका जिल्ला र सिन्धुली, चितवन र मकवानपुर गरि तीनवटा भित्री मधेसका जिल्लाहरू यसमा पर्दछन्।[3]
बागमती प्रदेश | |
---|---|
शीर्ष बायाँ देखि दायाँ गौरीशङ्कर, गोसाइँकुण्ड, पशुपतिनाथ मन्दिर, पाटन दरवार क्षेत्र, स्वयम्भूनाथ, भक्तपुर दरवार क्षेत्र, हनुमान ढोका र एकसिङ्गे गैंडा | |
प्रदेश | नेपाल |
स्थापना | २०७२ असोज ३ |
राजधानी | हेटौँडा |
सबैभन्दा ठूलो सहर | काठमाडौँ |
जिल्ला | १३ |
सरकार | |
• अङ्ग | बागमती प्रदेश |
• गभर्नर | यादवचन्द्र शर्मा |
• मुख्यमन्त्री | शालिकराम जमकट्टेल (नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)) |
• व्यवस्थापिका संसद | एकसदनात्मक (११० सिट) |
• संसद | प्रतिनिधि सभा (३२) राष्ट्रिय सभा (८) |
• उच्च अदालत | पाटन उच्च अदालत |
क्षेत्रफल | |
• जम्मा | २०३०० किमी२ (७८०० वर्ग माइल) |
• क्रम | पाँचौँ |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | ५,५२९,४५२ |
• क्रम | प्रथम |
• घनत्व | २७०/किमी२ (७१०/वर्ग माइल) |
• क्रम | दोस्रा |
वासिन्दा(हरू) | उपत्यकावासी राजधानी आसपासका नेपाली |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
भूसङ्केत | NP-TH |
आधिकारिक भाषा | नेपाली |
अन्य भाषा(हरू) | |
मानव विकास सूचकाङ्क | ०.५६० (मध्यम) |
साक्षरता | ७४.८५% |
लिङ्ग अनुपात | ९८.७७ ♂ /१०० ♀ (२०६८) |
वेबसाइट | ocmcm |
नेपाल सरकारको नापी विभागका अनुसार प्रदेश २६० ५५’ उत्तरी अक्षांशदेखि २८० २३’ उत्तरी अक्षांशसम्म र ८३० ५५’ पूर्वी देशान्तरदेखि ८६० ३४’ पूर्वी देशान्तरसम्म फैलिएको छ। १३ जिल्लाहरू रहेका यस प्रदेशमा ८४ वटा गाउँपालिका, ४१ वटा नगरपालिका, १ वटा उपमहानगरपालिका र ३ वटा महानगरपालिका रहेका छन्। भरतपुर, ललितपुर र काठमाडौँ महानगरपालिका हुन् भने प्रदेशको राजधानी हेटौँडा यस प्रदेशमा रहेको एकमात्र उपमहानगरपालिका हो।[3] नेपालको कुल नगरपालिका र गाउँपालिकाको यसले १५.८०% भूभाग ओगटेको छ जसमा नेपालको राजधानी काठमाडौँ र नेपालको सबैभन्दा सानो जिल्ला भक्तपुर गाउँपालिका विहिन छन् भने रसुवा जिल्लामा नगरपालिका छैन। नेपालको जनगणना २०६८ को अनुसार यस प्रदेशको जनसङ्ख्या ५,५२९,४५२ रहेको छ। यहाँको हावापानीमा पनि विविधता भेटिन्छ।[3]
साविकको प्रदेश नं. ३ को मन्त्रिपरिषदको हकमा मिति २०७४ माघ २९ गते मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भौतिक पुर्वाधार विकास मन्त्री तथा आन्तरिक मामिला तथा कानून मन्त्री समेत गरी प्रारम्भमा तीन सदस्यीय मन्त्रिपरिषद गठन भई फागुन १७ गते अन्य चार मन्त्रीहरू थप भई मुख्य मन्त्रीसहित सात सदस्यीय मन्त्रिपरिषद गठन भई बागमती प्रदेशको मन्त्रिपरिषदले पूर्णता पाएको थियो।