ब्राह्मी लिपि
केन्द्रीय तथा दक्षिण एसियाको प्राचीन लिपि / From Wikipedia, the free encyclopedia
ब्राह्मी लिपि विश्वको प्राचीनतम् लिपिमध्ये एउटा हो। यो लिपिको उत्पत्ति भारतमा भएको भन्ने विषयमा दुईमत छैन। यद्यपि ब्राह्मी लिपिको उत्पत्ति यसैबेला भएको भन्नलाई आज पनि कुनै निश्चित आधार छैन। ब्राह यो लिपिको उत्पत्ति भएको भन्ने जनविश्वास छ। भारतमा ई.पू. ४०० वर्षअघि यस लिपिबाट लिखित कुनै ऐतिहासिक सामग्री भेटिएको छैन। जैनसूत्रमा उल्लेख भएका १८ लिपिमा सबैभन्दा अगि्रमपङ्क्तिको लिपि ब्राह्मी लिपि हो। बौद्धग्रन्थ 'ललित विस्तर'मा ६४ वटा लिपिको वर्णनमध्ये क्रमागतरूपले सबैभन्दा पहिलो लिपि ब्राह्मी लिपि हो। ब्राह्मी लिपिको उत्पत्ति राजा अशोक -ई.पू. २७३-२३२) भन्दा दुई शताब्दी अघि भएको विश्वास छ। राजा अशोकको शिलालेखमा यो लिपि धेरै प्रयोग भएको छ। यस लिपिको प्रचारप्रसारको मूल आधार यही शिलालेखहरूलाई लिइन्छ। यद्यपि भारतको गुप्त शासनकालमा आएर यो लिपिको आकृति र स्वरूपमा केही परिवर्तन भयो। त्यसरी परिवर्तित लिपिलाई गुप्त लिपि भन्न थालियो। फेरि समयको अन्तरालमा गुप्त लिपिको आकृतिमा पनि परिवर्तन हुन थाल्यो, त्यस्तो परिवर्तित लिपिलाई कुटिल लिपि वा कुटिलाक्षर भन्ने गरियो। यो कुटिल लिपि ईसाको छैठौँ शताब्दीतिर देखापरेको थियो।
नेपालमा प्रचलित देवनागरी लिपिको जननी ब्राह्मी लिपि हो। नेपालमा ई.पू. २०० वर्षअघिको लुम्बिनीको अशोक स्तम्भ र कपिलवस्तुको निग्लिहवामा रहेको पुष्पीकरणको अशोकस्तम्भ अभिलेखमा उल्लेखित लिपि ब्राह्मी लिपि हो। नेपालको लागि यो सबैभन्दा प्राचीन, ऐतिहासिक सामग्री र लिपि भएको छ। यसरी नेपालको यो स्तम्भ र लिपिको ऐतिहासिक महत्त्व छ।