सन् २०१२ को महाप्रलय
From Wikipedia, the free encyclopedia
सन् २०१२को महाप्रलय पृथ्वीमा विध्वंसात्मक तथा रूपान्तरण गर्ने खालका घटनाहरू देखापर्नेछन भन्ने महाविनाश सम्बन्धि तर्कहरूको संयोजन हो ।[1][2][3] उक्त दिनलाई ५१२५ वर्ष लामो चक्रहुने प्राचिन अमेरिकी पात्रोको अन्त्यहुने दिनको रूपमा लिइएको छ । त्यस दिनमा पृथ्वीमा महाप्रलय आउने सम्भावना रहेको तथ्यलाई प्रमाणित गर्न विभिन्न खालका गणितीय सुत्र तथा ज्योतिषशास्त्रीय तर्क प्रस्तुत गरिएको भएपनि मुलधारका वैज्ञानिकहरू यसमा सहमत छैनन ।
सन् २०१२ डिसेम्बर २१मा प्रलय आएर पृथ्वी र पृथ्वीमा रहेका सम्पूर्ण सजीव तथा निर्जीव वस्तुहरूमा आध्यात्मिक तथा भौतिक रूपान्तरण हुने र महाविनाश पछि नयाँ युगको सुरुवात हुने भविश्यवाणी गरिएको छ ।[4] केहीले उक्त दिनलाई विश्वको अन्त्यको दिन वा विध्वंशको दिन पनि भनेका छन् । यस्तो भविश्यवाणी गर्नेहरूले सन् २०१२ डिसेम्बर २१मा आकाशगंगा तारापुञ्जको मध्य भागमा रहेको ब्ल्याक होल, सूर्य र पृथ्वी एउटै समानान्तर रेखामा पर्ने[5], सौर्य आँधीले प्रलय ल्याउने, पृथ्वीको ध्रुवहरू हेरफेर हुने, निबिरु नामक ग्रह आएर पृथ्वीमा ठोक्कीने जस्ता अनेकौँ भविश्यवाणी गरेका छन् ।
विश्वभर विभिन्न क्षेत्रमा कार्यरत वैज्ञानिकहरू सन् २०१२ डिसेम्बर २१मा पृथ्वीमा प्रलय आउने तर्कसँग सहमत छैनन् । लामो समयदेखि माया सभ्यताको अध्ययन गरिरहेका विद्वानहरू प्राचिन माया सभ्यताको हालसम्म प्राप्त कुनै पनि अवशेषहरूमा महाप्रलयको बारेमा वर्णन नगरिएको तथ्य अघि सार्छन । हाल प्रयोगमा रहेका पात्रोहरूको चक्र ३६५ दिनमा सकिए जस्तै माया सभ्यताको पात्रो ५१२५ वर्ष लामो चक्र पूरा भएको हुनाले यसले कुनै विध्वंशको सङ्केत नगर्ने तर्क उनीहरूको छ ।[6][7] अन्तरीक्ष वैज्ञानिकहरू र अन्य वैज्ञानिकहरूले सन् २०१२ डिसेम्बर २१लाई विध्वंशको दिन मान्न अस्विकार गरेकाछन । उनीहरूले यस्तो अफवाहलाई सामान्य अनुसन्धानबाट नै गलत साबित गर्न सकिने हुनाले यसलाई छद्मविज्ञानको संज्ञा दिएकाछन । यस्तो अफवाहले जैविक विविधतामा आएको ह्रास र तापक्रम वृद्धि जस्ता महत्त्वपूर्ण बिषयबाट विश्वको ध्यान भंग गरेको आरोप वैज्ञानिकहरूले लगाएका छन ।