ह्युगो चाभेज
From Wikipedia, the free encyclopedia
उगो रफाएल चाभेस फ्रिआस (स्पेनी उच्चारण: [ˈuɣo rafaˈel ˈtʃaβes ˈfɾi.as]; २८ जुलाई १९५४ – ५ मार्च २०१३) सन् १९९९ देखि ५ मार्च २०१३ सम्म दक्षिण अमेरिकी देश भेनेजुएलाका राष्ट्रपति थिए। उनी सन् १९९७ मा स्थापना भएको पाँचौँ गणतान्त्रिक आन्दोलन नामक राजनीतिक पार्टीको स्थापनाकालदेखि सन् २००७ सम्म अध्यक्षको रूपमा रहेका थिए। सन् २००७ उनको पार्टी अन्य धेरै पार्टीहरूसँग मिलेर भेनेजुएलाको एकीकृत समाजवादी पार्टी गठन भएको थियो जसको नेतृत्व पनि चाभेसले आफ्नो जीवनको अन्तिम अवस्थासम्म गरेका थिए।
ह्युगो चाभेज | |
---|---|
भेनेजुएलाका राष्ट्रपति | |
कार्यकाल २ फेब्रुअरी १९९९ – ५ मार्च २०१३ | |
उपराष्ट्रपति | हुलिआन आसियेस रोद्रिगेस दियास एडिना बास्तिदास Diosdado Cabello José Vicente Rangel जर्ज रोड्रिगेज रामोन कारिसेलेस इलियास हुआन निकोलास मादुरो] |
पूर्वाधिकारी | रफाएल काल्देरा |
उतराधिकारी | निकोलास मादुरो (अन्तरिम) |
व्यक्तिगत विवरण | |
जन्म | उगो रफाएल चाभेस फ्रिआस (१९५४-०७-२८)२८ जुलाई १९५४ सबानेता, भेनेजुएला |
मृत्यु | ५ मार्च २०१३(२०१३-०३-०५) काराकस, भेनेजुएला |
राजनीतिक दल | पाँचौँ गणतान्त्रिक आन्दोलन (1997–2007)
भेनेजुएलाको एकीकृत समाजवादी पार्टी (पिएसयुभी) (2007–2013) |
अन्य राजनीतिक संलग्नता | Great Patriotic Pole (सन् २०११–२०१३) |
जीवन साथी(हरू) | नान्सी कोल्मेनारेस (सम्बन्धबिच्छेद) मारिसाबेल रोद्रिगेस (सन् १९९७–२००४) |
मातृ शिक्षाप्रतिष्ठान | मिलिट्रि अक्याडमी अफ भेनेजुएला |
हस्ताक्षर | |
सैन्य सेवा | |
निष्ठा | भेनेजुएला |
शाखा/सेवा | भेनेजुएलाको सेना |
श्रेणी | लेफ्टिनेन्ट कर्णेल |
चाभेस आफैँले प्रतिपादन गरेका बोलिभारवाद तथा २१औँ शताब्दीको समाजवादको सिद्धान्त पालना गर्दै, समाजवादी सुधारलाई व्यवहारमा उतार्नका लागि बोलिभारियन क्रान्ति नामक सामाजिक परियोजना सञ्चालन गरेका थिए। जसको फलस्वरूप भेनेजुएलामा सन् १९९९मा नयाँ सम्विधान लागू भएको थियो। त्यस्तै सहभागितामुलक प्रजातान्त्रिक मञ्चहरूको गठन, देशका प्रमुख उद्योगहरूको राष्ट्रियकरण, शिक्षा तथा स्वास्थ्यमा सरकारी अनुदान वृद्धि तथा उल्लेख्य मात्रामा गरीवी घटाउन पनि बोलिभारियन क्रान्ति सफल भएको मानिन्छ। [1] संयुक्त राष्ट्रसङ्घीय सूचकाङ्कले पनि चाभेसको शासनकालमा भेनेजुएलाका जनताको जीवनस्तरमा सुधार आएको देखाएको।[2] दक्षिण अमेरिकाका लागि संयुक्त राष्ट्रसङ्घीय आयोगका अनुसार भेनेजुएलाको गरीवीदर सन् २००२ मा ४८.६% रहेकोमा सन् २०११ मा घटेर २९.५% पुगेको थियो ।[2]
भेनेजुएलाको सबानेता भन्ने स्थानमा एक गरीखाने वर्गको परिवारमा जन्मिएका चाभेस एक सैनिक अधिकृतको रूपमा सेवा क्षेत्रमा प्रवेश गरेका थिए। उनले तत्कालिन भेनेजुएलाको राजनीतिदेखि असन्तुष्ट भएर यसलाई पल्टाउनका लागि सन् १९८० तीर क्रान्तिकारी बोलिभारियन आन्दोलन - २०० नामक भूमिगत सङ्गठन खोलेका थिए। चाभेस नेतृत्वको उक्त सङ्गठनले सन् १९९२ मा तत्कालिन प्रजातान्त्रिक सरकारको नेतृत्व गरिरहेका राष्ट्रपति कार्लोस आन्द्रेस पेरेजको विरूद्ध कु गर्ने असफल प्रयास गरेका थिए। उनको कु असफल भएपछि उनी पक्राउ परे र चाभेज दुई वर्ष कारावासको सजाय भोग्नुपर्यो। कारावास मुक्त भएपछि चाभेसले पाँचौँ गणतान्त्रिक आन्दोलन नामक प्रजातान्त्रिक समाजवादी राजनीतिक पार्टीको स्थापना गरेका थिए। यही पार्टीको नेतृत्व गर्दै सन् १९९८ मा प्रथम पटक उनी भेनेजुएलाको राष्ट्रपतिको रूपमा निर्वाचित भएका थिए।
भेनेजुएलाको राष्ट्रपतिको रूपमा निर्वाचित भएलगत्तै उनले देशमा नयाँ सम्विधान लागू गरे जसले सिमान्तकृत वर्गका जनताहरूलाई अधिकार प्रदान गरेको थियो। सन् २००० मा भएको निर्वाचनमा पनि चाभेसनै निर्वाचित भएका थिग। राष्ट्रपतिको दोस्रो कार्यकालमा बोलिभारियन मिसन, कम्युनल काउन्सिल तथा कामदारद्वारा व्यवस्थापन गरिने सहकारी संस्थाहरूको व्यवस्था गरेका थिए। त्यस्तै उनले भूमिसुधार कार्यक्रम लागू गर्ने र देशका प्रमुख उद्योगहरूको राष्ट्रियकरण गर्ने काम पनि गरेका थिए। उनले लागू गरेका विभिन्न सुधार योजनाहरूले सफलता पाएपछि उनी एक लोकप्रिय नेताको रूपमा देश विदेशमा चिनिन थालेका थिए। फलस्वरूप चाभेस सन् २००६ मा भएको निर्वाचनमा पनि ६०% भन्दाबढी मत ल्याएर तेस्रो कार्यकालका लागि निर्वाचित भएका थिए। सन् २०१२ अक्टोबर ७ मा भएको राष्ट्रपतिय निर्वाचनमा पनि प्रतिद्वन्दी हेनरिक काप्रिलेसलाई पराजित गर्दै उनी चौँथो पटक छ वर्षीय कार्यकालका लागि निर्वाचित भएका थिए। [3]
चाभेसको राष्ट्रपतिय सरकार क्युबाका फिदेल कास्त्रो तथा राउल कास्त्रोका कम्युनिस्ट सरकार, बोलिभियाको एभो मोरालेस, इक्वेडरको रफाएल करिया तथा निकारागुवाको दानियल अर्टेगा शासित समाजवादी सरकारहरूसँग सहकार्यमा दक्षिण अमेरिकामा समाजवादी आन्दोलन पिंक टाइडको रूप लिन पुगेको थियो। यी देशका सरकारहरूका साथमा चाभेजले आफ्नो नीतिलाई साम्राज्यवाद विरोधी नीतिको रूपमा व्याख्या गरेका थिए। संयुक्त राज्य अमेरिकाको विदेशनीतिको कट्टर विरोधी चाभेस अमेरिकाको समर्थन प्राप्त नवउदारवादी तथा अहस्तक्षेपकारी पूँजिवादको कडा आलोचक थिए।[4] उनले ल्याटिन अमेरिका र क्याराबियन मुलुकहरूबिचको सहकार्यमा सहयोग पुर्याएका थिए। त्यस्तै दक्षिण अमेरिकी देशहरूको सङ्गठन युनियन अफ साउथ अमेरिकन नेसन्स, बोलिभारियन अलाईन्स फर द अमेरिकाज, ब्याङ्क अफ द साउथ तथा टेलिसर नामक क्षेत्रीय टेलिभिजन सञ्जाल स्थापना गर्न अहम भुमिका निर्वाह गरेका थिए। यद्यपी चाभेसको कोलम्बियासँगको नीति अत्याधिक विवादमा पर्ने गरेको छ। उनले कोलम्बिया तथा इक्वेडरका क्रान्तिकारीहरूलाई सहयोग गरेकै कारण सन् २००८मा ती मुलुकहरूसँगको कुटनीतिक सम्बन्धविच्छेद भएर सेना परिचालन गर्ने स्थिति आएको थियो। विपक्षी तथा विदेशी नेताहरूलाई गाली बेइजती गर्न पनि पछि नपर्ने चाभेस देशभित्र र बाहिर अत्यन्तै विवादित तथा आलोचित रहने गर्दथे। उनले तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसलाई गधासँग तुलना गरेका थिए [5] र उनलाई राक्षस भनेका थिए । [6] अमेरिकी समाचार माध्यामहरूले मुर्खको संज्ञा दिएपनि, अन्यले अमेरिकाले भेनेजुएलामा रहेको चाभेसको सरकारलाई परास्त गर्न तथा अवैधानिक सावितगर्न खोजेको भन्दै उनलाई एक प्रगतिशील प्रजातन्त्रवादी नेताकोरूपमा लिने गर्दछन्। [7][8][9][10] सन् २०११ जुन ३०मा चाभेजले एक सम्वोधनमार्फत आफ्नो शरीरबाट क्यान्सरग्रस्त कोषहरूसहितको ट्युमर निकालिएको र स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको जानकारी दिएका थिए। सन् २०१२ को डिसेम्बरमा उनको दोस्रोपटक शल्यक्रिया गरिएको थियो।[11] क्युबामा भएको तेस्रो उपचार यात्रा पश्चात सन् २०१३ जनावरी १० मा उनको घोषणाको तयारी गरिएको भएपनि भेनेजुएलाको राष्ट्रिय सभाले चाभेजलाई तन्दुरूस्तहुन समय लाग्ने भन्दै उक्त समारोहलाई स्थगित गरेको थियो।[12] अन्तत २०१३ मार्च ५ तारिखका दिन ५८ वर्षको उमेरमा राजधानी काराकसमा क्यान्सरकै कारणले उनको मृत्यु भएको थियो।[13][14]