धनतेरस
From Wikipedia, the free encyclopedia
पञ्चाङ्ग बमोजिम प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने चलन छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । धनतेरसका दिन नेपालको तराइ क्षेत्र र समस्त भारतमा नयाँनयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । त्यस क्षेत्रमा समाजका उच्च, मध्यम वा निम्न सबै वर्गका व्यक्तिहरूमा आफ्ना आवश्यकता र विलासिताका कतिपय महत्त्वपूर्ण चिजबिजको किनमेलका लागि वर्षभरि यही विशिष्ट दिनको प्रतीक्षा गर्ने गर्दछन् । यस पर्वमा यसरी नै किनमेल गर्नुपर्छ भन्ने सन्दर्भ कहिले र कसरी आरम्भ भयो भन्ने विषयमा कुनै निश्चित प्रमाण त छैन तर धन्वन्तरिको प्रादुर्भाव समुद्रमन्थनबाट भएको र उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले यस दिनलाई भाँडाकुडा किनमेलका लागि शुभ मान्न थालिएको हो ।[1]