दूरसञ्चार
From Wikipedia, the free encyclopedia
दूरसञ्चार (Telecommunications) भन्नाले कुनै सङ्केत, सन्देश, शब्द, लेख, तस्वीर, आवाज वा अन्य किसिमको जानकारीको तार, रेडियो, प्रकाश वा विद्युतचुम्बकीय तरङ्गको माध्यमबाट प्रसारण गरिने पद्दतिलाई बुझिन्छ।[1][2] प्रविधिको माध्यमबाट कुनै सूचना तथा जानकारीलाई प्रेषकबाट प्रापकसम्म पुर्याउने कार्य नै दूरसञ्चार हो। यस क्रममा सूचनाहरूलाई विद्युतीय रूपमा रुपान्तरण गरी भौतिक माध्यम (उदाहरण: तार) मार्फत अथवा विद्युतचुम्बकीय तरङ्गको रूपमा प्रसारित गरिन्छ।[3][4][5][6][7][8] दूरसञ्चार प्रणालीमा सूचना प्रसारणको मार्गलाई प्राय: सञ्चार च्यानलहरूमा विभाजन गरिन्छ, जसले गर्दा मल्टिप्लेक्सिङ विधिको फाइदाहरु उपभोग गरी दूरसञ्चारको प्रक्रियालाई अझै प्रभाबकारी बनाउन सकिन्छ। दूरसञ्चार (Telecommunications) शब्दको प्रादुर्भाव ल्याटिन शब्द communicatio बाट भएको हो र यसको अर्थ जानकारी आदानप्रदान गर्ने सामाजिक प्रक्रिया भन्ने हुन्छ।[9] दूरसञ्चारको शाब्दिक अर्थ लामो/टाढाको दूरीमा सम्पर्क वा सञ्चार स्थापना गर्नु भन्ने हुन्छ।
दूरसञ्चार ऐन, २०५३ का अनुसार दूरसञ्चार भन्नाले आवाज, चिन्ह, सङ्केत, लेखोट, आकृति, कुनै प्रकारको गोप्य सङ्केत वा खबर उत्सर्जन (इमिसन), प्रसारण वा प्राप्तिको लागि कुनै तरिकाले पुनर्व्यवस्था, गणना वा अन्य परिवर्तन गरेको वा नगरेको त्यस्तो आवाज, चिन्ह, सङ्केत, लेखोट, आकृति वा गोप्य सङ्केत वा खबर, विद्युतीय माध्यमबाट तार, रेडियो, प्रकाश (अप्टीकल) वा अन्य विद्युत चुम्बकीय प्रणालीद्वारा उत्सर्जन, प्रसारण वा प्राप्ति गर्ने कार्य सम्झनु पर्छ।