प्राणी वर्गीकरण विज्ञान
From Wikipedia, the free encyclopedia
प्राणी वर्गीकरण विज्ञान वा जीव वर्गीकरण विज्ञान (अङ्ग्रेजीमा: ट्याक्सोनोमी, प्राचीन युनानी: τάξις ताक्सिस, "व्यवस्थापन," र -νομία -नोमी, विधि[1]) जीव विज्ञानको एउटा शाखा हो। यसमा जीवहरूको पहिचान, गुण वा लक्षणको समानता र भिन्नताको आधारमा त्यसलाई बेग्ला-बेग्लै श्रेणी (समूह)मा श्रेणीकृत गर्नुका साथै ती श्रेणीहरूलाई (समूह) नामकरण पनि गर्ने गरिन्छ। जीवहरूको नामकरण गर्दा वैज्ञानिक पद्दति अनुसारको सिद्धान्तलाई पालन गरिन्छ।[2][3] आधुनिक प्रयोगमा रहेका प्रमुख पदहरू अधिजगत (अङ्ग्रेजी: Domain), जगत (अङ्ग्रेजी: Kingdom), सङ्घ (अङ्ग्रेजी: Phylum) ('सङ्घ'को ठाउँमा कहिलेकाहीँ वनस्पति शास्त्रमा 'विभाग'को प्रयोग गरिन्छ), वर्ग (अङ्ग्रेजी: Class), गण (अङ्ग्रेजी: Order), कुल (अङ्ग्रेजी: Family), वंश (अङ्ग्रेजी: Genus), उपवंश (अङ्ग्रेजी: Subgenus) र प्रजाति (अङ्ग्रेजी: Species) रहेका छन्। स्विडेनको वनस्पतिविद् कार्ल लिनियसलाई वर्तमान वर्गीकरण प्रणालीको पिता भन्ने गरिन्छ, किनकि उनले जीवहरूलाई वर्गीकरण गर्नको लागि द्विपदीय नामकरण पद्धति 'लिनियन वर्गीकरण' प्रणाली विकसित गरेका थिए।