नेपालका सहरहरूको सूची
From Wikipedia, the free encyclopedia
नेपालका सहर र नगरहरू नगरपालिका अन्तर्गत समाहित छन्। नेपालको नगरपालिका एउटा जिल्लाको उप-एकाइ हो। नेपाल सरकारले नगरपालिका बन्नको लागि न्यूनतम मापदण्ड तोकेको छ। यी मापदण्डहरू अन्तर्गत निश्चित जनसङ्ख्या, पूर्वाधार र राजस्व समावेश रहेको छ। हाल नेपालमा २९३ नगरपालिका छन् जसमध्ये ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिका छन्। यस बाहेक ४६० गाउँपालिका छन् जसलाई समग्रमा जोड्दा नेपालमा कुल ७५३ स्थानीय तह रहेका छन्।[1]
नेपालको राजधानी र सबैभन्दा ठूलो सहर काठमाडौँ हो।[2][3] क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो महानगरपालिका पोखरा हो जसले ४६४.२८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ भने सबैभन्दा सानो महानगरपालिका ललितपुर हो जसले ३६.१२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। यसै प्रकार क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो उपमहानगरपालिका घोराही हो जसले ५२२.२१ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ भने जनसङ्ख्याको आधारमा सबैभन्दा ठूलो उपमहानगरपालिका जनकपुर हो जसको जनसङ्ख्या १,५९,४६८ रहेको छ।[4] यस्तै क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो नगरपालिका सितगङ्गा हो जसले ६१०.४३ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ।[5]