तिहार
नेपालीको महान पर्व / From Wikipedia, the free encyclopedia
तिहार हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको सबैभन्दा ठूलो पर्व हो। यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ। पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ। यो पाँच दिवसीय पर्व विशेष गरी नेपालमा मनाइन्छ। हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली)को रूपमा यस पर्वलाई धूमधामसाथ मनाउँछन्। यस पर्वको नाम हिन्दी शब्दको 'त्योहार' शब्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ। यसलाई दीपावली अनि दिवाली नामले पनि चिनिन्छ। यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको छ।[1] यही दिन भगवान् धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतेरस पनि भनिन्छ। यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास रहेको छ। त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ। यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पुजा गरिन्छ। पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ। [1]।
तिहार | |
---|---|
वैकल्पिक नाम | यमपञ्चक, दिपावली, दीवाली |
प्रकार | धार्मिक, नेपाली |
उत्सव | दिपावली, घरको सजावट, देउसी भैलो, पुजा तथा धार्मिक संस्कार |
परिपालन | काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, भाइ-टीका |
मिति | कार्त्तिक कृष्ण पक्ष त्रयोदशी देखि शुक्ल पक्ष द्वितीयासम्म |
सम्बन्धित | दिपावली |